भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
काठमाडौँ — भोटेकोशी–त्रिशूली विपद्पछि प्रभावित नागरिकको पुनस्र्थापना, पुनर्निर्माण तथा भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले सभामुख डोलप्रसाद अर्यालको प्रस्तावमा हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी विशेष समिति गठन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम गठन गरिएको समितिले विपद्को कारण, प्रभाव र राज्यको उद्धार तथा पुनर्निर्माण व्यवस्थापनबारे अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिनेछ ।
तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने
समितिको कार्यावधि पहिलो बैठक बसेको मितिदेखि तीन महिना तोकिएको छ । निर्धारित समयमा काम सम्पन्न गर्न नसकेमा कारणसहित थप समय माग गर्न सकिने र प्रतिनिधिसभाको निर्णयअनुसार म्याद थप गर्न सकिने व्यवस्था गरिएको छ ।
समितिलाई भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित नागरिकको खोज तथा उद्धार, बेपत्ता व्यक्तिको अवस्था, राहत वितरण, अस्थायी बसोबास र जीविकोपार्जन सुधारका विषयमा अध्ययन गरी सिफारिस गर्न जिम्मेवारी दिइएको छ ।
त्यसैगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रम, हिमपात, हिमनदी, हिमताल र जलाधारमा परेको प्रभाव तथा जोखिमसम्बन्धी तथ्याङ्कको समीक्षा गर्ने कार्यादेश पनि समितिलाई दिइएको छ ।
कानुनी सुधारदेखि तीन तहको अनुगमनसम्म
समितिले विपद्, वातावरण र भूउपयोगसम्बन्धी कानुन संशोधन वा पुनर्लेखनका लागि सुझाव दिनेछ । साथै संघ, प्रदेश र स्थानीय तहका बजेट, कार्यसम्पादन तथा प्रगतिको संसदीय अनुगमन गर्ने जिम्मेवारी पनि पाएको छ ।
सभामुख अर्यालका अनुसार समितिको मुख्य उद्देश्य प्रभावित नागरिकको पुनस्र्थापना, दिगो पुनर्निर्माण, भविष्यका विपद्को जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अपनाउनुपर्ने कार्यदिशा सिफारिस गर्नु हो ।
समितिमा को–को छन् ?
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिमा निम्न १५ सांसद सदस्य छन्?
१. अच्युतम लामिछाने
२. अनुस्का श्रेष्ठ
३. गङ्गादेवी श्रेष्ठ
४. गणेश पराजुली
५. धनञ्जय रेग्मी
६. ध्रुवराज राई
७. निशा डाँगी
८. पुष्पराज कँडेल
९. मोहन आचार्य
१०. मिङ्मा ग्याबु शेर्पा
११. रमेश कुमार मल्ल
१२. रवीन्द्र पटेल
१३. सरस्वती लामा
१४. सुजाता तामाङ
१५. सीता थपलिया