रसुवा बाढीमा बेपत्ता कार्की दाजुभाइको २५ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
मोरङ— रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्म आएको भीषण बाढीमा बेपत्ता भएका दुई दाजुभाइको २५ दिनपछि हिन्दु धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत कुलबहादुर कार्की र सूर्यबहादुर कार्कीको आइतबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको
हो ।
परिवारका अनुसार बाढीमा बेपत्ता भएपछि विभिन्न निकायसँग खोजीका लागि आग्रह गरिए पनि दुवैको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन । त्यसपछि परिवारले धार्मिक विधिअनुसार अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
५५ वर्षीय कुलबहादुरको झापाको सुरुंगा माईघाटमा तथा ४५ वर्षीय सूर्यबहादुरको मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ स्थित लोहन्द्रा खोलामा अन्त्येष्टि गरिएको छ ।
खोजीबाट खबर नआएपछि परिवारले गर्यो अन्तिम संस्कार
कार्की परिवारका निकटस्थ मनोज कार्कीका अनुसार दाजुभाइको खोजीका लागि विभिन्न निकायमा जानकारी गराउँदा पनि हालसम्म कुनै खबर आएको छैन ।
कुलबहादुर झापाको शिवसताक्षी नगरपालिका–१० मा बसोबास गर्दै आएका थिए भने सूर्यबहादुर सुन्दरहरैंचा नगरपालिका–१२ मा बस्दै आएका थिए । सूर्यबहादुर अमस्ता हाइड्रोपावरमा कार्यरत रहेको बताइएको छ ।
सूर्यबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन् । त्यसैगरी कुलबहादुरका श्रीमती र एक छोरी रहेको परिवारले जनाएको छ ।