भद्रकालीमा भक्तको भीड, औजारको पूजा आज विश्वकर्मा जयन्ती
काठमाडौं— आज सडकमा गुड्ने गाडीको पाङ्ग्रा रोकिएको छ, कलकारखानाको मेसिन बन्द छ, तर पूजा चलिरहेको छ। सृष्टिका शिल्पकार भगवान विश्वकर्माको सम्झनामा आज देशभर विश्वकर्मा पूजा मनाइँदैछ ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिको दिन मनाइने यो पर्वको मुख्य केन्द्र यसपटक पनि काठमाडौंको भद्रकाली बनेको छ । बिहानैदेखि भद्रकालीस्थित विश्वकर्मा मन्दिरमा औजार र मेसिनको पूजाआजा गर्न श्रद्धालुहरूको लामो लाइन लागेको छ । आफ्नो जीविकोपार्जनको आधार मानिने फलाम र पाङ्ग्रालाई देवता मानेर ढोग्नेको घुइँचो छ ।
यो पूजा केवल धार्मिक कर्मकाण्ड मात्र होइन । आजको दिन देशभरका वर्कसप, ग्यारेज, उद्योग, निर्माणस्थल र कार्यालयहरूमा काम पूर्ण रूपमा ठप्प पारेर भगवान विश्वकर्माको मूर्ति तथा तस्वीर स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
सवारीसाधनलाई धुलाई गरी माला लगाउने, मेसिनरी पार्टपुर्जा, लेथ, ग्रेन्डरदेखि हतौडासम्मका औजारमा टीका र फूल चढाउने र मजदुर तथा कर्मचारीलाई नै पूजामा सहभागी गराउने चलनले आज मालिक र मजदुरबीचको दूरी मेटिएको छ । धेरै उद्योगहरूमा पूजापछि प्रसाद वितरण र शुभकामना आदानप्रदान कार्यक्रम समेत राखिएको छ ।
आज पूजा गरिएका मूर्तिहरू भने भोलि परम्परा अनुसार नदी र जलाशयमा लगेर विसर्जन गरिनेछ।