भू-परिवेष्ठित मुलुक भएर पनि समुद्रको बहसमा नेपाल: BBNJ सम्झौता आज संसदमा – Nepalboli

भू-परिवेष्ठित मुलुक भएर पनि समुद्रको बहसमा नेपाल: BBNJ सम्झौता आज संसदमा

   २०८३ आश्विन १, बिहीबार  

काठमाडौँ — आफ्नो सिमानामा समुद्र नभए पनि नेपालले आज विश्वको समुद्र जोगाउने एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतामाथि औपचारिक बहस थाल्दैछ ।

सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकको मुख्य आकर्षण भू-परिवेष्ठित राष्ट्रको हैसियतमा नेपालले लिन लागेको सामुद्रिक प्रतिवद्धता हुनेछ ।

आजको सम्भावित कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता’ माथि सामान्य छलफलको प्रस्ताव सदनमा पेस गर्नेछिन् । यो सम्झौता अन्तर्राष्ट्रिय रूपमा ‘High Seas Treaty’ वा BBNJ सम्झौताको नामले चिनिन्छ ।

यो सम्झौता किन महत्वपूर्ण छ त?

नेपाल समुद्रसँग नजोडिएको भए पनि संयुक्त राष्ट्रसङ्घको सदस्य र जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको देशको नाताले अन्तर्राष्ट्रिय समुद्रमा हुने जैविक लुट र प्रदुषणको विषयमा यसको सरोकार जोडिन्छ। राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको समुद्र – अर्थात High Seas मा पाइने जैविक विविधताको संरक्षण र त्यसको लाभको न्यायोचित बाँडफाँड नै यो सम्झौताको मूल मर्म हो ।

संसद सचिवालयका अनुसार मन्त्री गौतमले प्रस्ताव प्रस्तुत गरेपछि सांसदहरूले यस सम्झौतामा नेपालको पक्ष बन्नुको कूटनीतिक र वातावरणीय महत्वमाथि धारणा राख्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै