१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभिरमा नयाँ ट्र्याकबाट यातायात सञ्चालन – Nepalboli

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभिरमा नयाँ ट्र्याकबाट यातायात सञ्चालन

   २०८३ आश्विन १, बिहीबार  

काठमाडौ— त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर खण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । नयाँ ट्र्याक निर्माण गरिएपछि बिहीबार बिहान ६ बजेदेखि राजमार्गमा दुईतर्फी सवारीसाधन चल्न थालेका हुन् ।

गत १४ भदौमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो । सडक सञ्चालनका लागि निर्माण गरिएको नयाँ ट्र्याकमा भदौ २८ गते केही हेभी सवारीसाधन गुडाएर परीक्षणसमेत गरिएको थियो ।

परीक्षणपछि ट्र्याकलाई पूर्णता दिन निर्माण कार्य निरन्तर अघि बढाइएको थियो । सम्बन्धित निकायहरूको प्रयासपछि नयाँ ट्र्याक तयार पारिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार गरेको निर्णयअनुसार बिहीबार बिहान ६ बजेदेखि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

सडक जोखिम कायमै, यात्रुलाई सावधानी अपनाउन आग्रह

राजमार्ग सञ्चालनमा आए पनि धादिङका विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगामाटो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ ।

प्रशासनले सवारी चालक तथा यात्रुलाई सडकको अवस्था ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार बिहानैदेखि पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै