फोहोरले भरिएको ट्र्याक्टर लिएर वडा पुगे युवा, अध्यक्ष नभेटिएपछि कार्यालयमै फोहोर थुपारेर विरोध
धनुषा— गाउँमा महिनौँदेखि थुप्रिँदै गएको फोहोर र अव्यवस्थित पानी निकासको समस्याले आक्रोशित बनेका धनुषाको औरही गाउँपालिका–१ झिटकहियाका युवाहरूले वडा कार्यालयमै फोहोर थुपारेर विरोध जनाएका छन् ।
झिटकहिया युवा संगठनको नेतृत्वमा स्थानीय युवाहरूले गाउँका विभिन्न स्थानमा जम्मा भएको फोहोर ट्र्याक्टरमा संकलन गरी वडा नं. १ को कार्यालयसम्म पुर्याएका थिए । फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न वडा अध्यक्षसँग भेट्ने प्रयास गरिए पनि उनी कार्यालयमा उपस्थित नभएपछि युवाहरूले विरोधस्वरूप कार्यालय परिसरमै फोहोर थुपारेका हुन् ।
युवाहरूका अनुसार झिटकहियामा लामो समयदेखि फोहोर व्यवस्थापन र पानी निकासको समस्या जटिल बन्दै गएको छ । यसले गाउँको वातावरण मात्र होइन, स्थानीयको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारिरहेको उनीहरूको भनाइ छ ।
स्थानीय युवाहरूले नियमित फोहोर संकलन, उचित व्यवस्थापन प्रणाली र ढल तथा पानी निकासको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन् । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा ढिलाइ नगरी आवश्यक पहल गर्न सम्बन्धित निकायलाई उनीहरूले आग्रह गरेका छन् ।