पार्टी बैठक छाडेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रक्सौल लागेपछि….. – Nepalboli

पार्टी बैठक छाडेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रक्सौल लागेपछि…..

   २०८३ भाद्र ३०, मंगलवार  

काठमाडौ— गएको चैत १५ गते जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी बैठक डाकिएको थियो। सोहीअनुसार नेताहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगे। बैठकको समय बिहान ९ बजे तोकिएको थियो। निर्धारित समयअनुसार पार्टीका अन्य सबै नेताहरू कार्यालय पुगे पनि पार्टी अध्यक्ष उपेन्द्र यादव भने उपस्थित भएनन्। त्यसपछि नेताहरूले पार्टी अध्यक्ष यादवको खोजी गर्न थाले। केही समयपछि उनीहरूलाई सूचना आयो—पार्टी अध्यक्ष यादव देश नै छाडेर वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौल पुगिसकेका छन्।

बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका नेताहरू अध्यक्ष यादव अचानक रक्सौलतर्फ लाग्नुको कारणबारे अन्योलमा देखिए। पार्टीले बिहान १० बजे विज्ञप्ति जारी गर्दै दुई दिनअघि नियुक्त भएका प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिँदै त्यस दिनका लागि बोलाइएको पार्टी बैठक स्थगित गरिएको जानकारी सार्वजनिक गर्‍यो।

त्यसपछि पार्टी कार्यालय पुगेका नेताहरू आ–आफ्नो घर फर्किए। तर, जसपा नेपालका अध्यक्ष यादवले पार्टी बैठक नै अलपत्र पारेर रक्सौलतर्फ जानुको कारणबारे खोजी हुन थाल्यो।

ओली पक्राउ परेपछि आतिएर काठमाडौ छाडे यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले नै बोलाएको पार्टी बैठक स्थगित भएको सूचना समेत पार्टीका नेताहरूलाई प्रवाह नगरी रक्सौल जानुको पछाडि चैत १४ गते बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको घटना मुख्य कारण रहेको दाबी गरिएको छ।

चैत १३ गते बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका थिए। सोही दिन उनले शपथ लिएर कार्यभार सम्हालेका थिए। नवनियुक्त गृहमन्त्री सुदन गुरुङ त्यसै रात सक्रिय भएर चैत १४ गते बिहान पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गराएका थिए। उक्त घटनाबाट त्रसित भएर जसपा नेपालका अध्यक्ष यादव चैत १४ गते बिहानै करिब १० बजे आफूले प्रयोग गर्दै आएको पीएसओलाई काठमाडौंमै छाडेर हेटौंडातर्फ लागेको बताइएको छ। हेटौंडामा आफ्ना गाडीसमेत छाडेर उनी साँझ वीरगञ्जका एक स्थानीय नेताको मोटरसाइकलमा चढेर रक्सौलतर्फ गएको दाबी गरिएको छ। हेटौंडामै यादवले आफ्नो मोबाइल फोनसमेत स्विच अफ गरेको बताइएको छ।

यसरी चैत १४ गते राति नै रक्सौल पुगेका उपेन्द्र यादव त्यहाँ एउटा लजमा कोठा लिएर करिब एक हप्ता बसेको बताइएको छ। रक्सौलमा बसेर यादवले नयाँ रास्वपा नेतृत्वको सरकारले आफूमाथि रहेको गौर हत्याकाण्डलगायतका मुद्दा अगाडि बढाउन लागेको छ कि छैन भन्नेबारे बुझ्न केही नेताहरूलाई खटाएको दाबी गरिएको छ।

नयाँ सरकारले आफूलाई पक्राउ गर्न सक्ने त्रासका कारण यादव पार्टीका समेत सीमित नेताहरूसँग मात्र सम्पर्कमा रहने गरेको बताइन्छ। तर, त्यसबाट पनि ढुक्क हुन नसकेपछि करिब एक हप्ता रक्सौल बसेर उनी पटना गएको र त्यहाँ झन्डै डेढ महिना बसेको दाबी गरिएको छ। उनी वैशाखको अन्तिमतिर मात्रै नेपाल फर्किएको बताइएको छ।

ओली छुटेपछि नेपाल फर्किए यादव

पूर्वप्रधानमन्त्री ओली अदालतबाट छुटेपछि तथा त्यसबीचमा महन्थ ठाकुरले स्वयं रास्वपा सभापति रवि लामिछानेसँग भेटेर उपेन्द्र यादवसहित मधेशका अन्य नेताहरूलाई धरपकड नगर्न आग्रह गरेपछि मात्रै यादव नेपाल फर्किएको दाबी गरिएको छ। मधेशका उपेन्द्र यादव मात्रै होइन, बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि अन्य केही नेताहरू पनि भारततर्फ गएको चर्चा पार्टी वृत्तमा छ।

जसपा नेपालका नेता शरतसिंह भण्डारीले दिल्लीमा घर नै किनेर त्यहीँ बस्न थालेको चर्चा पार्टी वृत्तमा छ। भण्डारी पार्टीका बैठक तथा कार्यक्रममा सहभागी हुन मात्रै नेपाल आउने गरेको र अन्य समयमा अहिले पनि दिल्लीमै बस्ने गरेको उनीनिकट व्यक्तिहरू बताउँछन्।

प्रभु साहसँग मिलेर अग्रगामी मोर्चा

यता, वैशाखको अन्तिममा नेपाल फर्किएका उपेन्द्र यादवले यसबीचमा आफूविरुद्ध गौर हत्याकाण्डमा कारबाहीको माग गर्दै आएका प्रभु साहसँग मिलेर अग्रगामी मोर्चा गठन गरेका छन्।
त्यही मोर्चाको ब्यानरमा उनीहरूले अघिल्लो हप्ता पश्चिम मधेश र जनकपुरमा कार्यक्रम गरेका छन्। नवलपरासीमा कार्यक्रम भइरहेका बेला मञ्चमै रहेका यादवविरुद्ध नाराबाजीसमेत भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै