तीजमा पशुपति क्षेत्रमा २५ सय प्रहरी परिचालन, चोरी र पाकेटमारी नियन्त्रणमा विशेष निगरानी – Nepalboli

तीजमा पशुपति क्षेत्रमा २५ सय प्रहरी परिचालन, चोरी र पाकेटमारी नियन्त्रणमा विशेष निगरानी

   २०८३ भाद्र २९, सोमबार  

काठमाडौं— हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा भक्तजनको चाप बढ्ने भएपछि काठमाडौं प्रहरीले पशुपति क्षेत्रको सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ । भीड व्यवस्थापनदेखि पाकेटमारी, चोरी र आकस्मिक घटनासम्मलाई लक्षित गर्दै सोमबार मात्रै २ हजार ५ सय प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीलाई दुई सिफ्टमा परिचालन गरिनेछ । मन्दिर परिसरको प्रत्यक्ष सुरक्षा व्यवस्थापनको नेतृत्व डीएसपीले गर्नेछन् भने समग्र सुरक्षा परिचालनको कमान्ड परिसरका अपरेशन कमान्डरले सम्हाल्नेछन् ।

पशुपति क्षेत्रमा सुरक्षा अवस्थाको निरन्तर निगरानी, प्रहरी परिचालन र आवश्यक समन्वयका लागि आइतबारदेखि नै कमान्ड पोस्ट स्थापना गरिएको छ । प्रहरीका एसपी दानबहादुर थापाका अनुसार कमान्ड पोस्टमार्फत सुरक्षा अवस्थाको अनुगमन तथा आवश्यक निर्देशन दिने व्यवस्था मिलाइएको छ ।

यसपटकको सुरक्षा योजनामा भक्तजनको सुरक्षित आवागमन र भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ । महिला तथा बालबालिकाको सुरक्षा, चोरी तथा पाकेटमारी नियन्त्रण, ट्राफिक व्यवस्थापन र आकस्मिक उद्धारका लागि छुट्टाछुट्टै रूपमा प्रहरी परिचालन गरिनेछ ।

सम्भावित आपराधिक गतिविधिमाथि निगरानी बढाउन सादा पोसाकका प्रहरीसमेत उल्लेख्य संख्यामा परिचालन गरिनेछ । पशुपति क्षेत्रमा जडान गरिएका सीसीटीभीमार्फत समेत सुरक्षा अवस्थाको निगरानी गरिने प्रहरीले जनाएको छ ।

तीजका दिन पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई प्रहरीले आफ्ना मोबाइल, गरगहना, नगद तथा अन्य सामानको सुरक्षामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । कुनै समस्या वा शंकास्पद गतिविधि देखिएमा नजिकैको प्रहरी वा हेल्प डेस्कमा तत्काल सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै