सखीले हरण गरेको दिन, आज हरितालिका तीज मनाइदै – Nepalboli

सखीले हरण गरेको दिन, आज हरितालिका तीज मनाइदै

   २०८३ भाद्र २९, सोमबार  

काठमाडौँ— भाद्र शुक्ल तृतीयाको आजको दिनलाई केवल श्रीमानको दीर्घायुको कामना गर्ने दिनका रूपमा मात्र बुझिँदै आएको छ, तर यसको शास्त्रीय पृष्ठभूमि र शाब्दिक अर्थले फरक कथा भन्छ । संस्कृतको हरित अर्थात् हरण गरिएको र आलिकाु अर्थात् सखी मिलेर बनेको हरितालिका शब्दले नै यो पर्वको सुरुवात महिला एकता र सखीहरूको साथबाट भएको पुष्टि गर्छ ।

धर्मशास्त्र अनुसार यो व्रत महिला मात्रको होइन । शास्त्रीय विधानमा महिला र पुरुष दुवैले व्रत बस्नुपर्ने उल्लेख छ, तर व्यवहारमा यसलाई महिलाले मात्र श्रीमानको दीर्घायुका लागि बस्ने व्रतका रूपमा स्थापित गरियो । पौराणिक कथा नै पार्वतीले आफ्नो रोजाइको वर पाउन गरेको संघर्षसँग जोडिएको छ ।

कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसेर महादेवलाई पतिका रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् र वरदान पनि पाएकी थिइन् । तर पिता हिमालयले उनको इच्छा विपरित विष्णुसँग विवाह गराइदिन खोजेपछि पार्वतीले आफ्नो पीडा सखीहरूलाई सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि सखीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाए। सखीहरूले लुकाएकै स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवलाई प्राप्त गरिन् । त्यो दिन भाद्र शुक्ल तृतीया भएकाले त्यसैबेलादेखि यो दिन हरितालिका तीजका रुपमा मनाउन थालिएको मान्यता स्कन्द पुराण लगायतका ग्रन्थमा पाइन्छ ।

अर्कोतर्फ व्रतको विधिको विषयमा पनि समाजमा रहेको ुभोकै बस्नैपर्छु भन्ने मान्यतालाई शास्त्रले नै खण्डन गरेको छ ।

महर्षि आपस्तम्बका अनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम मानिन्छ, द्वितीयासँग जोडिएको तिथिमा व्रत गर्नु हुँदैन। र सबैभन्दा महत्वपूर्ण कुरा, व्रतको स्वरुपबारे शास्त्र लचिलो छ ।

व्रत तीन प्रकारले बस्न सकिन्छ ( निराहार, जलाहार र फलाहार। शास्त्रमा ुसर्वतः आत्मानं गोपायेत्ु अर्थात् जसरी भए पनि आफ्नो शरीरको रक्षा गर्नु पहिलो धर्म हो भनिएको छ । त्यसैले स्वास्थ्य अवस्थाले साथ नदिनेहरूले निराहार बस्नै पर्दैन ।

स्वास्थ्यका कारण भोकै बस्न नसक्नेले सखरखण्ड, पिँडालु, तरुल, केरा, आँप, अम्बा, दूध जस्ता हवनीय वस्तुहरू सेवन गर्न सक्ने विधान छ । स्कन्द पुराणमा त औषधि सेवनले समेत व्रत भंग नहुने स्पष्ट उल्लेख छ । एकादशी र तीजमा अन्न बाहेक फल, कन्दमूल, दूध र जल ग्रहण गर्न मिल्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै