सिरहाको खेतमा शंकास्पद वस्तु भेटिएपछि सेनाले गर्‍यो डिस्पोज – Nepalboli

सिरहाको खेतमा शंकास्पद वस्तु भेटिएपछि सेनाले गर्‍यो डिस्पोज

   २०८३ भाद्र २८, आईतवार  

सिरहा — सिरहाको बरियारपट्टीमा खेतको आलीमा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ । सेनाको टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको छ ।

बरियारपट्टी गाउँपालिका–३ नवटोलीस्थित स्थानीय जयनारायण कामतको खेतको आलीमा आइतबार दिउँसो करिब साढे ४ बजे शंकास्पद वस्तु फेला परेको थियो । वस्तु देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । वस्तु शंकास्पद देखिएपछि प्रहरीले नेपाली सेनालाई जानकारी गराएको थियो ।

प्रहरीको खबरपछि नन्दाबक्स गण, चोहर्वा सिरहाबाट बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । टोलीले साँझ करिब साढे ६ बजे उक्त वस्तुलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार डिस्पोज गरिएको वस्तु वास्तवमै बम थियो वा थिएन भन्ने पुष्टि भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी पाठकले बताए ।

घटनापछि स्थानीय क्षेत्रमा केही समय सुरक्षा सतर्कता बढाइएको थियो । प्रहरीले शंकास्पद वस्तु देखिएमा आफैं चलाउने वा सार्ने प्रयास नगरी तत्काल सुरक्षाकर्मीलाई खबर गर्न आग्रह गरेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै