नागोया एसियाडमा नेपालको क्रिकेट टोली: ऐरी, रोहित र सन्दीपसहित १५ खेलाडी तय
काठमाडौं — जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि नेपालको पुरुष क्रिकेट टोलीको टुंगो लागेको छ । नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेलसहित १५ खेलाडीको टोली सार्वजनिक गरेको हो ।
टोलीमा अनुभवी तथा युवा खेलाडीको मिश्रण देखिएको छ । ब्याटिङतर्फ लोकेश बम, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल र मोहम्मद आसिफ शेख छन् भने अलराउन्डतर्फ दीपेन्द्र सिंह ऐरी, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी र मोहम्मद आरिफ शेखलाई समेटिएको छ ।
बलिङतर्फ सन्दीप लामिछाने, शेर मल्ल, ललितनारायण राजवंशी र नन्दन यादव टोलीमा छन् ।
नेपालको टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् । विनोदकुमार दास टिम लिडर तथा अब्दुल सत्तार र रमण शिवाकोटी प्रशिक्षक र प्राविधिक टोलीमा छन् । मेडिकल पर्सनलका रूपमा लोकेन्द्र कुँवर रहनेछन् ।
जापानको आइची–नागोयामा असोज ३ देखि १८ गतेसम्म एसियाली खेलकुद आयोजना हुँदैछ । प्रतियोगितामा नेपालले विभिन्न २२ खेलमा सहभागिता जनाउनेछ ।
नेपालबाट एसियाली खेलकुदमा ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडी सहभागी हुनेछन् । उनीहरूसँग २९ प्रशिक्षक, १७ व्यवस्थापक र दुई खेल प्राविधिकसहित कुल १८४ सदस्यीय नेपाली टोली जापान जानेछ ।
क्रिकेटतर्फ सार्वजनिक गरिएको टोलीमा अनुभव र आक्रामक खेलशैलीका लागि परिचित खेलाडीको उपस्थिति रहेकाले एसियाडमा नेपालको प्रदर्शनमाथि विशेष चासो रहनेछ ।