कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्गमा ग्यास बुलेट चल्न थाले
धादिङ —बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक खोलिएसँगै अत्यावश्यक सामग्रीको ढुवानी सुरु भएको छ । तत्कालका लागि ग्यास बुलेट र मालवाहक ट्रकलाई परीक्षणका रूपमा एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि भदौ १४ गते कृष्णभीरमा सडक भासिएको थियो । त्यसपछि अवरुद्ध बनेको सडकमा भासिएको भागभन्दा केही माथिको भित्तो काटेर नयाँ ट्र्याक निर्माण गरिएको हो ।
नयाँ ट्र्याक तयार भएपछि आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर पार गराइएको छ । सडकको अवस्था निरीक्षण तथा यातायात सञ्चालनको व्यवस्थापनका लागि धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमसहित नेपाली सेनाको टोलीसमेत कृष्णभीर पुगेको थियो ।
हाल नयाँ ट्र्याकबाट ग्यास बुलेट र ट्रकलाई मात्र आवतजावत गर्न दिइएको छ । सडकको भार थेग्ने क्षमता र अवस्थाको परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको प्रशासनले जनाएको छ ।
सडकको अवस्था अनुगमन गर्दै क्रमशः अन्य सवारीसाधनलाई पनि सञ्चालनमा ल्याउने तयारी छ। तर नयाँ ट्र्याकमा अझै ग्राभेलिङ र कम्प्याक्सनको काम पूरा हुन बाँकी रहेकाले पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात पूर्णरूपमा सहज हुन केही समय लाग्ने देखिएको छ ।
बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गमा कृष्णभीरको अवरोध हट्नु अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन महत्वपूर्ण मानिएको छ । विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा ग्यास तथा अन्य सामग्रीको ढुवानीमा परेको असर कम गर्न यो अस्थायी ट्र्याकले राहत पुग्ने अपेक्षा गरिएको छ ।