काठमाडौंमा इन्द्रजात्राको चहलपहल सुरु, आज रुख काट्ने साइत
काठमाडौं— काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्वमध्ये एक इन्द्रजात्राको तयारी औपचारिक रूपमा सुरु हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षका विभिन्न साइत सार्वजनिक गरेसँगै इन्द्रजात्राको १३ दिने धार्मिक तथा सांस्कृतिक प्रक्रिया अघि बढ्न लागेको हो ।
इन्द्रजात्राको मुख्य प्रतीक इन्द्रध्वजाको लिङ्गो निर्माणका लागि रुख काट्न वनयात्रा जाने साइत आज बिहान ९ः५३ बजे तोकिएको छ । वन पुगेपछि रुख काट्ने साइत भने राति ८ः४७ बजे रहेको समितिले जनाएको छ ।
परम्पराअनुसार भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाका लागि उपयुक्त रुख छनोट गरी काट्ने गरिन्छ । त्यसपछि लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८ः०५ बजे तोकिएको छ ।
असोज ७ गते इन्द्रध्वजोत्थान
इन्द्रजात्राको महत्वपूर्ण विधि मानिने इन्द्रध्वजोत्थान असोज ७ गते बुधबार बिहान ७ः४७ बजे गरिनेछ ।
त्यसपछि जात्राका मुख्य दिनहरू सुरु हुनेछन् । असोज ९ गते शुक्रबार तल्लो टोलमा रथयात्रा गराइनेछ । यही दिन राष्ट्रपतिसहित अतिविशिष्ट व्यक्तित्वहरू हनुमानढोकास्थित गद्दी बैठक पुगेर कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । असोज १० गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ ।
महिलाले मात्र तान्ने नानीचा यात्रा
इन्द्रजात्राको अर्को महत्वपूर्ण आकर्षण नानीचा यात्रा असोज १३ गते हुनेछ । उक्त दिन महिलाहरूले मात्र कुमारीको रथ तान्ने परम्परा छ ।
सोही दिन राति ९ः२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत तोकिएको छ । लिङ्गो ढालेपछि इन्द्रजात्राको मुख्य धार्मिक प्रक्रिया सम्पन्न हुने गर्छ ।
लिङ्गो ढालेपछि सोही राति राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि यस वर्षको १३ दिने इन्द्रजात्रा औपचारिक रूपमा समापन हुनेछ ।
इन्द्रजात्रा काठमाडौंको धार्मिक आस्था, नेवार समुदायको मौलिक संस्कृति, रथयात्रा, लाखे नाच तथा विभिन्न परम्परागत जात्रालाई एउटै उत्सवमा जोड्ने महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।