कांग्रेस कार्यसम्पादन समिति बैठक आजः एजेन्डा गोप्य, प्रदेश सभापतिलाई पनि बोलाइयो
काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा सम्बन्धित सबैलाई उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन् ।
यद्यपि, बैठकमा छलफल हुने विषय तथा औपचारिक एजेन्डा भने पार्टीले सार्वजनिक गरेको छैन ।
प्रदेश सभापतिहरूसमेत सहभागी हुने गरी कार्यसम्पादन समिति बैठक बोलाइएपछि बैठकलाई कांग्रेसको आन्तरिक संगठन तथा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय हुनसक्ने बैठकका रूपमा हेरिएको छ ।
पार्टीले एजेन्डा सार्वजनिक नगरे पनि पछिल्लो राजनीतिक परिस्थिति, संगठनात्मक विषय तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुनसक्ने नेताहरूको अपेक्षा छ ।