चिलिमेको अन्डरग्राउन्ड पावरहाउस पुग्न अझै ३ दिन लाग्ने अनुमान – Nepalboli

चिलिमेको अन्डरग्राउन्ड पावरहाउस पुग्न अझै ३ दिन लाग्ने अनुमान

   २०८३ भाद्र २७, शनिबार  

काठमाडौं— रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको अन्डरग्राउन्ड पावरहाउससम्म पुगेर फसेकाहरूको उद्धार गर्ने प्रयास जारी रहे पनि लक्ष्यसम्म पुग्न अझै कम्तीमा तीन दिन लाग्ने अनुमान गरिएको छ ।

उद्धार कार्यमा संलग्न सुरुङविद् एवं सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र जमेको लेदो हटाउने काम तीव्र रूपमा भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि एक्स्काभेटर र ह्विल लोडर प्रयोग गरेर लेदो हटाउने काम जारी छ ।

न्यौपानेका अनुसार शनिबार साँझसम्म करिब ६० मिटर लेदो हटाइसकिएको छ । कामको गति यही अवस्थामा कायम रहेमा बाँकी लेदो हटाउन थप तीन दिन लाग्ने अनुमान गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यससँगै सुरुङको माथिल्लो भागबाट म्यानुअल रूपमा खोतल्दै अघि बढ्ने काम पनि जारी छ । २४० मिटरमध्ये हालसम्म करिब १२० मिटरभित्रसम्म खोतल्ने काम सम्पन्न भएको उनले बताएका छन् ।

तर सुरुङभित्रको वास्तविक अवस्था अझै पूर्ण रूपमा यकिन हुन नसकेकाले उद्धार अभियानको समय थप लम्बिन सक्ने देखिएको छ । न्यौपानेका अनुसार सम्पूर्ण काम सम्पन्न गर्न थप दुईदेखि तीन दिन लाग्न सक्ने अनुमान छ ।

उद्धार टोलीले एकातर्फ मेसिन प्रयोग गरेर लेदो हटाइरहेको छ भने अर्कोतर्फ जोखिमलाई ध्यानमा राख्दै सुरुङको माथिल्लो भागबाट म्यानुअल रूपमा बाटो खोल्ने प्रयास गरिरहेको छ ।

सुरुङभित्रको अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि टोलीले निरन्तर काम गरिरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै