अस्पताल परिसरबाहिरै प्रसूति गराएको घटनाप्रति स्वास्थ्य सेवा विभाग गम्भीर, तत्काल उपचार सुनिश्चित गर्न निर्देशन – Nepalboli

अस्पताल परिसरबाहिरै प्रसूति गराएको घटनाप्रति स्वास्थ्य सेवा विभाग गम्भीर, तत्काल उपचार सुनिश्चित गर्न निर्देशन

   २०८३ भाद्र २६, शुक्रबार  

काठमाडौं— सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर नवजात शिशुको जन्म भएको घटनाप्रति स्वास्थ्य सेवा विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले घटनाबारे प्रेस वक्तव्य जारी गर्दै प्रसूति सेवाका लागि पुगेकी आमाले अस्पताल परिसरबाहिरै नवजात शिशुलाई जन्म दिनुपरेको विषय सार्वजनिक भएपछि घटनालाई संवेदनशील रूपमा लिएको जनाएको हो ।

विभागका अनुसार प्रसूति अवस्थामा रहेकी आमा र नवजात शिशुको स्वास्थ्य तथा सुरक्षा संविधानतः राज्यको सर्वोच्च प्राथमिकतामध्ये एक हो । आर्थिक अवस्था, पहुँच वा अन्य कुनै कारणले आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपर्ने अवस्था आउन नहुने विभागले स्पष्ट पारेको छ ।

घटनाको तत्काल छानबिन तथा वास्तविक अवस्था बुझ्न विभागले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । अस्पतालमा प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी, सहज र मानवीय ढंगले उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्नसमेत भनिएको छ ।

विभागले घटनाबारे आमाको तथा नवजात शिशुको स्वास्थ्य अवस्था, अस्पतालमा भएको सेवा प्रवाह, स्वास्थ्यकर्मीबाट भएको कार्यसम्पादन तथा उपलब्ध अभिलेखलगायतका विषयमा यथार्थ जानकारी लिन निर्देशन दिएको जनाएको छ ।

विभागले कमजोर तथा जोखिममा रहेका गर्भवतीलाई तत्काल सम्बोधन गरी अस्पतालमा प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्ने बताएको छ । साथै, आर्थिक वा अन्य कारणले सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

‘आमा र नवजात शिशुको स्वास्थ्यमा कुनै सम्झौता हुँदैन’

स्वास्थ्य सेवा विभागले सम्बन्धित आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालबाट जानकारी प्राप्त भएको जनाएको छ । तर, घटनाको वास्तविक अवस्था र सेवा प्रवाहमा भएको कमजोरीबारे आवश्यक छानबिन गरी सुधारका कदम चाल्नुपर्नेमा विभागले जोड दिएको छ ।

सरकारले आमा सुरक्षा कार्यक्रम मार्फत सुरक्षित मातृत्व, संस्थागत प्रसूति तथा आमा–नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको विभागको भनाइ छ ।

सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउनुका साथै प्रसूति सेवाका लागि आउने–जाने यातायात खर्चसमेत सरकारले उपलब्ध गराउँदै आएको विभागले स्मरण गराएको छ ।

विभागले आमा सुरक्षा कार्यक्रमबारे जनचेतना विस्तार गर्दै हरेक गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउने र कुनै पनि आमालाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने अभियानलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने जनाएको छ ।

विभागका निमित्त महानिर्देशकद्वारा जारी वक्तव्यमा आमा तथा बच्चाको स्वास्थ्यप्रति पूर्ण संवेदनशील भई समयमै गुणस्तरीय र सम्मानजनक सेवाको सुनिश्चितता गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै