इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म :दीपक साहको अबको परीक्षा
काठमाडौं —जलविद्युत् क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव हासिल गरेका इन्जिनियर दीपक कुमार साहले अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी–४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित साहलाई प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई उक्त जिम्मेवारी दिइएको हो । नयाँ जिम्मेवारीसँगै साहका लागि उद्योग क्षेत्रको नीति, आपूर्ति व्यवस्थापन, व्यापार सहजीकरण र निजी क्षेत्रसँगको समन्वय मुख्य चुनौतीका रूपमा रहनेछन् ।
साहको राजनीतिक पहिचानभन्दा फरक उनको शैक्षिक तथा प्राविधिक पृष्ठभूमि पनि चर्चामा आएको छ । उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट मेकानिकल इन्जिनियरिङमा प्रथम श्रेणीमा स्नातक गरेका हुन् । त्यसपछि सन् २०२५ मा नेपाल खुला विश्वविद्यालयबाट ‘नेचुरल रिसोर्स डेभलपमेन्ट’ विषयमा प्रथम श्रेणीमै स्नातकोत्तर गरेका छन् ।
राजनीतिमा सक्रिय हुनुअघि साहले जलविद्युत् क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए । ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण संसद्मा रहँदा पनि उनी प्राविधिक र विकाससम्बन्धी विषयमा तथ्यमा आधारित बहस गर्ने सांसदका रूपमा प्रस्तुत हुँदै आएका थिए ।
साहको राजनीतिक यात्रा पनि विभिन्न चरण हुँदै अघि बढेको देखिन्छ । उनले सर्वोदय पार्टी र जनस्वराज पार्टीको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसपछि सिके राउत नेतृत्वको जनमत पार्टीमा उपाध्यक्षका रूपमा समेत काम गरेका साह पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट सुनसरी–४ मा उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
अब भने उनको राजनीतिक भूमिकाभन्दा बढी प्रशासनिक र नीतिगत क्षमता परीक्षण हुनेछ । उद्योगमन्त्रीका रूपमा औद्योगिक उत्पादन वृद्धि, लगानीको वातावरण, व्यापार तथा आपूर्ति प्रणाली सुधार, स्वदेशी उत्पादनको प्रवर्द्धन र प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमा उनले आफ्नो प्राविधिक अनुभवलाई कसरी प्रयोग गर्छन् भन्ने चासोको विषय बनेको छ ।
जलविद्युत् र इन्जिनियरिङको अनुभव बोकेर मन्त्रालयको नेतृत्वमा पुगेका साहका लागि अब प्राविधिक ज्ञानलाई व्यावहारिक सरकारी नीतिमा रूपान्तरण गर्नु नै सबैभन्दा ठूलो परीक्षा हुनेछ ।