‘हामी अहंकार सिक्न आएका होइनौँ, विवादित धर्मगुरुको सङ्गत पनि गर्दैनौँ’ : निश्कल राई – Nepalboli

‘हामी अहंकार सिक्न आएका होइनौँ, विवादित धर्मगुरुको सङ्गत पनि गर्दैनौँ’ : निश्कल राई

   २०८३ भाद्र २५, बिहीबार  

काठमाडौँ— ‘हामी अहंकार सिक्न आएका होइनौँ। विवादित धर्मगुरुहरूको सङ्गत हामी सिक्न आएका होइनौँ।’ नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको कार्यशैली र मन्त्रीहरूको पछिल्लो अभिव्यक्तिमाथि प्रतिनिधिसभामै कडा असन्तुष्टि जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले आफूहरू सरकारबाट विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र लोकतान्त्रिक संस्कार सिक्न तयार रहेको बताए । तर अराजकता, अहंकार, असहिष्णुता, पूर्वाग्रह र भ्रम फैलाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौँ’ भनेको प्रसंग उल्लेख गर्दै राईले प्रतिपक्ष सिक्न तयार रहेको बताए । उनले सिकाइको विषय भने राज्य सञ्चालनको विधि र लोकतान्त्रिक संस्कार हुनुपर्ने स्पष्ट पारे ।

‘हामी सिकाउन आएका हौँ भन्ने कुरा पनि सुनियो। हामी सिक्न तयार छौँ । हामी प्रतिपक्षी दल सधैँ सिक्न तयार छौँ,’ राईले भने, ‘तर संस्कार सिक्न चाहन्छौँ । विधि, प्रक्रिया, पद्धति सिक्न चाहन्छौँ। विधानसङ्गत कुरा सिक्न चाहन्छौँ। सहिष्णुता सिक्न चाहन्छौँ, सिद्धान्त सिक्न चाहन्छौँ ।’

सरकार संविधान, कानुन र स्थापित प्रक्रियाअनुसार चल्नुपर्नेमा पहुँच र प्रभावका आधारमा निर्णय हुन थालेको आरोपसमेत राईले लगाए। जेनजी आन्दोलनले विधिको शासन, सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यको माग उठाएको स्मरण गराउँदै उनले त्यही आन्दोलनको जगमा बनेको सरकारले विधि मिच्न नहुने बताए ।

राईले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भइरहेको आरोप लगाउँदै रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन आग्रह गरे । वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्दै विधान र कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाउन उनले सरकारसँग माग गरे ।

त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा नागरिकलाई घरघर पुगेर जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषय पनि उनले संसद्मा उठाए ।

स्वास्थ्य बीमामा नागरिकलाई आबद्ध गराउने व्यक्तिको आफ्नै श्रम असुरक्षित रहेको भन्दै राईले प्रोत्साहन रकममा हुँदै आएको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरवलोकन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बीमाका विषय फरक देखिए पनि ती सबैको मूल प्रश्न राज्यको विधि, प्रक्रिया र जवाफदेहितासँग जोडिएको बताए ।

आफूहरूको आलोचना पूर्वाग्रहपूर्ण नभएको स्पष्ट पार्दै राईले सरकारका काममाथि प्रश्न उठाउनु प्रतिपक्षको जिम्मेवारी भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै