भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक, पूर्वाधारमै सबैभन्दा ठूलो क्षति – Nepalboli

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक, पूर्वाधारमै सबैभन्दा ठूलो क्षति

   २०८३ भाद्र २५, बिहीबार  

काठमाडौं— रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनरुत्थान गर्न सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनले बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पूर्वाधार रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार पूर्वाधार पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ आवश्यक पर्नेछ । यो कुल पुनरुत्थान आवश्यकताको करिब ७५ प्रतिशत हो ।

ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो क्षति

बाढीबाट ऊर्जा तथा ग्रिड प्रणालीमा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना प्रभावित भएका छन् ।

ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनको निष्कर्ष छ ।

सडक तथा पुलतर्फ पनि क्षतिको अवस्था गम्भीर देखिएको छ । बाढीले ६९ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ भने ३३ वटा मोटरेबल पुल बगाएको छ । थप चार मोटरेबल पुलमा आंशिक क्षति पुगेको छ ।

त्यस्तै, प्रभावित क्षेत्रका ६४ झोलुङ्गे पुलमध्ये ५३ वटा क्षतिग्रस्त भएका छन् । समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।

साढे ७ हजारभन्दा बढी निजी घर क्षतिग्रस्त

बाढीले भौतिक पूर्वाधारसँगै सामाजिक तथा उत्पादन क्षेत्रमा समेत ठूलो असर पारेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन् ।

यसैगरी ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सामाजिक क्षेत्रको पुनरुत्थानका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ ।

उत्पादन क्षेत्रमा पनि बाढीको प्रभाव व्यापक छ । व्यापार, व्यवसाय, बैंकिङ र कृषिसहितको उत्पादन क्षेत्र पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।

बाढीबाट १ हजार ८०६ हेक्टर कृषि बाली, १७ बैंक शाखा र करिब ८८४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् ।

विदुरमा मात्रै ३ हजारभन्दा बढी घरमा क्षति

पाँच जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि थप ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।

६ महिनामा राहत, दीर्घकालीन पुनर्निर्माणमा ७ खर्बभन्दा बढी

सरकारले पुनर्निर्माणलाई तत्कालीन र दीर्घकालीन गरी दुई चरणमा अघि बढाउने योजना बनाएको छ ।

प्रतिवेदनअनुसार आगामी ६ महिनाभित्र राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ ।

दीर्घकालीन पुनर्निर्माणका लागि भने ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन आवश्यक पर्ने रकमको ठूलो हिस्सा ऊर्जा, सडक तथा अन्य पूर्वाधार पुनर्निर्माणमै खर्च हुने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै