उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा – Nepalboli

उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा

   २०८३ भाद्र २५, बिहीबार  

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

पछिल्लो समय ग्यास आपूर्ति र उद्योगी व्यवसायीसँग सम्बन्धित विषयमा मन्त्री यादवको अभिव्यक्ति विवादमा परेको थियो । बिहीबार मात्रै उनले ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिको आलोचना भएको थियो ।

राजीनामा दिनुअघि यादवले मन्त्रालयअन्तर्गतका विषयमा विभिन्न निर्णय तथा निर्देशन दिँदै आएकी थिइन् । विशेषगरी पछिल्लो समय काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभावका विषयमा उनको मन्त्रालयमाथि दबाब बढेको थियो ।

यादवले गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

मन्त्री यादवको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी नेतृत्वबारे चासो बढेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै