संघीय संसद्का दुवै सदन बस्दै, प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत हुने
काठमाडौं—संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तीनवटा विधेयकसम्बन्धी प्रस्ताव अघि बढाउने सम्भावित कार्यसूची रहेको छ ।
अर्थमन्त्री वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । त्यसैगरी ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत उनले प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नेछिन् ।
बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव समेत प्रस्तुत गरिनेछ । सभामुखले उक्त शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रियसभामा मानव अधिकार आयोगको प्रतिवेदन
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उक्त प्रस्तावमाथि राष्ट्रियसभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।