असोज ३ देखि काठमाडौं उपत्यकामा ६ रुटमा २८ रात्रिकालीन बस थपिँदै
काठमाडौं — काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार हुने भएको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि ६ वटा विस्तारित रुटमा थप २८ वटा रात्रिकालीन बस सञ्चालनमा ल्याइने भएको हो ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको सहकार्यमा गत वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् । हाल सञ्चालनमा रहेको सेवालाई विस्तार गर्दै उपत्यकाका उत्तर–दक्षिण र पूर्व–पश्चिम क्षेत्रलाई आपसमा जोड्ने योजना अघि बढाइएको हो ।
योजनाअनुसार गोदावरी–बूढानीलकण्ठ रुटमा ६ वटा, भक्तपुरको जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–नागढुङ्गा रुटमा ४ वटा बस सञ्चालन गरिनेछ ।
त्यस्तै, कीर्तिपुर–नयाँ सडकस्थित नेपाल वायुसेवा निगम रुटमा ४ वटा र चक्रपथमा दुईतर्फी सञ्चालन हुने गरी ८ वटा रात्रिकालीन बस थपिनेछन् ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको सम्बन्धित नगरपालिकाका प्रमुख–उपप्रमुख, साझा यातायात तथा सरोकारवाला अधिकारीहरूको बैठकले रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
चक्रपथमा समेत सेवा विस्तार भएपछि यात्रुले एक स्थानमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्नेछन् । बस परिवर्तनसहित यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने व्यवस्था गरिएको छ ।
रात्रिकालीन बस सेवा विस्तारसँगै अबेरसम्म काम गर्ने कर्मचारी, विद्यार्थी, यात्रु तथा रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणलाई सार्वजनिक यातायातको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।