रसुवा बाढीमा भारतको सहयोग तीव्र, १३० टनभन्दा बढी राहत सामग्री र ५४ विशेषज्ञ नेपालमा
काठमाडौं —रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार र राहत अभियानमा भारतले आफ्नो सहयोग थप विस्तार गरेको छ। भारतीय वायुसेनाको आठौँ विशेष उडानमार्फत थप राहत सामग्री काठमाडौं ल्याइएको छ ।
भारतका अनुसार २६ अगस्ट २०२६ देखि हालसम्म आठवटा विशेष उडानमार्फत १३० टनभन्दा बढी मानवीय सहायता सामग्री नेपाल पठाइएको छ । उद्धार, राहत तथा मृतक तथा बेपत्ताको पहिचानका लागि ५४ जना भारतीय विशेषज्ञ जनशक्ति समेत नेपालमा परिचालन गरिएको छ ।
भारतले उपलब्ध गराएका सामग्रीमा अस्थायी आश्रयस्थल, कम्बल, हाइजिन किट, सोलार बत्ती र औषधिसँगै सुरुङ तथा हिलोमा उद्धारका लागि आवश्यक विशेष उपकरण छन् । ग्यास डिटेक्टर, श्वासप्रश्वास उपकरण, मड रेस्क्यु सुट, इन्फ्लेटेबल वाकवे, पोर्टेबल जेनेरेटर, लाइटिङ टावर र पानी निकाल्ने पम्पलगायत सामग्री पनि नेपाल ल्याइएको छ ।
त्यसैगरी, बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण किट, रिएजेन्ट र आवश्यक फरेन्सिक उपकरण समेत भारतले उपलब्ध गराएको जनाएको छ ।
चिलिमेमा सुरुङ उद्धार केन्द्रित
भारतीय विशेष सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा सुरुमा चिलिमे र लाङटाङ क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो । पछिल्लो समय खोज तथा उद्धारको मुख्य ध्यान चिलिमेमा केन्द्रित गरिएको छ ।
दुर्गम भूगोल, कठिन पहुँच र सुरुङको ढल्काइका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको भारतीय पक्षले जनाएको छ । यद्यपि, टोलीले म्यानुअल प्रयाससँगै विभिन्न प्रविधिको प्रयोग गर्दै खोजीलाई निरन्तरता दिएको छ ।
सुरुङ क्षेत्रमा एक्स्काभेटरलगायत भारी उपकरण पुर्याउन अस्थायी सडक निर्माण भइरहेको छ । उक्त बाटो निर्माणमा उल्लेखनीय प्रगति भइरहेको र आगामी दुईदेखि तीन दिनभित्र काम पूरा हुने अपेक्षा गरिएको भारतले जनाएको छ ।
काठमाडौंमा डीएनए परीक्षण जारी
बेपत्ता तथा मृतकको पहिचानका लागि भारतीय फरेन्सिक टोलीले नेपाली अधिकारी तथा विशेषज्ञसँग सहकार्य गर्दै काठमाडौंका दुईवटा प्रयोगशालामा डीएनए नमुनाको परीक्षण र विश्लेषण गरिरहेको छ ।
भारतबाट उपलब्ध गराइएका फरेन्सिक प्रयोगशाला उपकरण, डीएनए किट तथा रिएजेन्टले पहिचान प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने जनाइएको छ ।
भारतले विपद्को यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतालाई आवश्यक मानवीय सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ । उद्धार तथा राहतसँगै आगामी पुनःस्थापना प्रयासमा समेत सहयोग जारी राख्ने भारतले जनाएको छ ।