बिपी कोइरालाको ११३औँ जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम – Nepalboli

बिपी कोइरालाको ११३औँ जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम

   २०८३ भाद्र २४, बुधबार  

काठमाडौं— नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र, राष्ट्रियता र समाजवादका पक्षमा राजनीतिक संघर्ष गरेका कोइरालालाई स्मरण गर्दै कांग्रेस, भ्रातृ तथा शुभेच्छुक संस्था र बिपी संग्रहालयले कार्यक्रम आयोजना गरेका हुन् ।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले राजनीतिकसँगै नेपाली साहित्यमा समेत विशिष्ट योगदान पुर्‍याएका छन्  ।

राणा शासनविरुद्धको संघर्षका क्रममा कोइराला परिवार भारत निर्वासनमा पुगेको थियो । भारतमा रहँदा बिपीले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागिता जनाएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्यसहित उनी राजनीतिक गतिविधिमा सक्रिय भए ।

राणा शासनको अन्त्य गर्ने उद्देश्यले विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । पछि सुवर्णशम्शेरको नेतृत्वमा स्थापित नेपाल प्रजातन्त्र कांग्रेससँग एकीकरण भएपछि नेपाली कांग्रेस गठन भयो र २००७ सालको प्रजातान्त्रिक क्रान्ति सफल भएको थियो ।

क्रान्तिपछि गठन भएको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने। विसं २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत हासिल गरेपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । प्रधानमन्त्रीका रूपमा उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई राजनीतिको मूल आधार बनाउँदै विभिन्न सुधारका कार्यक्रम अघि बढाए। बिर्ता उन्मूलन तथा ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने अवधारणामा आधारित भूमि सुधार उनका महत्वपूर्ण कदममध्ये थिए ।

तर विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले सेनाको सहयोगमा जननिर्वाचित सरकार अपदस्थ गरेपछि बिपीसहितका नेता पक्राउ परे। उनीहरूलाई सिंहदरबार हुँदै सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

स्वास्थ्य परीक्षणका लागि विसं २०२५ मा जेलमुक्त भएपछि बिपी करिब आठ वर्ष भारत निर्वासनमा रहे । निर्वासनमा रहँदा प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गरे पनि राष्ट्रियता कमजोर हुन सक्ने निष्कर्षमा पुगेपछि उनी विसं २०३३ पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति लिएर नेपाल फर्किए ।

स्वदेश फर्किएपछि पनि उनलाई पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । बिपीले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति नेपाली राजनीतिमा अहिले पनि चर्चाको विषय रहँदै आएको छ ।

विसं २०३६ को जनमतसंग्रहमा बहुदल र सुधारिएको पञ्चायतबीच जनमत विभाजन भए पनि परिणामलाई बिपीले स्वीकार गरेका थिए । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै