यथावत मूल्यमा ग्यास सिलिन्डर साट्न उद्योगमन्त्रीको निर्देशन – Nepalboli

यथावत मूल्यमा ग्यास सिलिन्डर साट्न उद्योगमन्त्रीको निर्देशन

   २०८३ भाद्र २४, बुधबार  

काठमाडौं— काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले एक कम्पनीको सिलिन्डर नपाए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रसुवामा आएको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भई उपत्यकामा ग्यासको उपलब्धतामा समस्या देखिएपछि उपभोक्तालाई तत्काल राहत हुने गरी यस्तो व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् ।

मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी कुनै उपभोक्ताले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर उपलब्ध नभएमा अर्को कम्पनीको सिलिन्डरमार्फत ग्यास उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन् ।

यस व्यवस्थापछि उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको ब्रान्डको सिलिन्डर नपाए पनि अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्नेछन् । सिलिन्डर साट्दा उपभोक्ताबाट थप रकम असुल्न नपाइने मन्त्रालयले जनाएको छ ।

बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई ग्यासको सहज पहुँच सुनिश्चित गर्न यस्तो निर्णय गरिएको मन्त्रालयको भनाइ छ ।

मन्त्री यादवले ग्यास वितरणका क्रममा उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा सरकारले तोकेको व्यवस्थाविपरीत काम गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै