जेन–जी आन्दोलनको एक वर्षमा बालेनको सन्देशः ‘सुशासन कायम हुने नै छ’
काठमाडौं — जेन–जी आन्दोलन भएको एक वर्ष पुगेकै दिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुशासनको प्रतिबद्धता दोहोर्याएका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत जेन–जी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने आश्वासन दिएका हुन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
गत वर्ष भएको जेन–जी आन्दोलनले देशको राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरण गर्दै प्रधानमन्त्री शाहले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई सुशासनप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ ।