रसुवामा दुई महिनामै सीडीओ परिवर्तन, परियार मन्त्रालय तानिए – Nepalboli

रसुवामा दुई महिनामै सीडीओ परिवर्तन, परियार मन्त्रालय तानिए

   २०८३ भाद्र २१, आईतवार  

काठमाडौं— रसुवाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० नरेन्द्र परियारलाई जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । उनको ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।

पछिल्लो समय रसुवामा बाढीपछि सिर्जित विपद् व्यवस्थापन, खोज तथा उद्धार र राहत वितरणमा जिल्ला प्रशासन कार्यालयको भूमिका प्रभावकारी हुन नसकेको आरोपका कारण सीडीओ परियारलाई मन्त्रालय फिर्ता बोलाइएको हो कि भन्ने प्रश्नमा सहायक प्रजिअ अधिकारीले भने त्यसको खण्डन गरेका छन् ।

उनले परियारको सरुवालाई कार्यसम्पादनसँग जोडेर हेर्न नहुने बताए । कर्मचारीको सरुवा आवश्यकता र प्रशासनिक निर्णयअनुसार १०–१५ दिनमै समेत हुन सक्ने भन्दै उनले यो नेपाल सरकार तथा गृह मन्त्रालयको निर्णय भएको स्पष्ट पारे ।

‘कार्यसम्पादन सबल वा कमजोर थियो भन्ने विषय गृह मन्त्रालयसँगै सोध्नुपर्ने हुन्छ,’ अधिकारीले भने, ‘मन्त्रालयले आधिकारिक रूपमा कुनै कारण नखुलाएको अवस्थामा सरुवालाई कार्यसम्पादनसँग जोडेर हल्ला फैलाउनु उचित हुँदैन ।’

परियार आइतबारसम्म रसुवामै रहने र सोमबार रमाना लिएर गृह मन्त्रालय जाने तयारीमा छन् ।

यसैबीच, नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका कमलप्रसाद पाण्डे सोमबारसम्म रसुवा पुगेर कार्यभार सम्हाल्ने तयारीमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

पाण्डे यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निर्देशकका रूपमा कार्यरत थिए । उनको आगमनसँगै बाढीबाट प्रभावित रसुवामा विपद् व्यवस्थापन, खोज तथा उद्धार तथा राहत समन्वयको जिम्मेवारी अब नयाँ नेतृत्वले सम्हाल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै