बाजुरामा रातभरको वर्षापछि पहिरो, सात घरगोठमा क्षति
काठमाडौं— बाजुराको बडीमालिका नगरपालिकामा रातभर परेको अविरल वर्षापछि खसेको पहिरोले सात वटा घर तथा गोठमा क्षति पुर्याएको छ । पहिरोमा परेर घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायामा समेत क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति करिब ८ बजेदेखि परेको वर्षापछि माथिबाट खसेको पहिरोले बडीमालिका नगरपालिका–८ कोठ्याराका नरे रावल तथा वडा नम्बर–९ का करे थापा र दीपक विकको घरमा क्षति पुगेको हो ।
यस्तै, पहिरोले वडा नम्बर–९ का मोती ओखेडा, धनबहादुर विक, जंग ओखेडा र तुले लुहारका गोठमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण घर तथा गोठमा रहेका खाद्यान्न, लत्ताकपडा र पशुचौपायामा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
वर्षा र पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।