जोखिमपूर्ण बाटो छिचोल्दै टिमुरे सीमा नाकामा राखियो नेपालको झन्डा
काठमाडौं — भोटेकोशीको बाढीले सीमा क्षेत्रमा पुग्ने बाटो नै तहसनहस बनाएपछि आवागमन कठिन बनेको रसुवागढी सीमा नाकामा सुरक्षा निकायले जोखिम मोलेर नेपालको राष्ट्रिय झन्डा फहराएका छन् ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको संयुक्त टोलीले नेपालको राष्ट्रिय झन्डा राखेको हो ।
भोटेकोशी नदीमा आएको बाढीका कारण सीमा क्षेत्र पुग्ने सडक तथा बाटो क्षतिग्रस्त भएपछि केही समयदेखि त्यहाँ पुग्न कठिनाइ भएको थियो । तर सुरक्षा निकायको टोलीले जोखिमपूर्ण बाटो पार गर्दै भदौ १० गते सीमा क्षेत्रमा पुगेर राष्ट्रिय झन्डा राखेको हो ।
सशस्त्र प्रहरी बलको बीओपी टिमुरेबाट गएको टोलीले जोखिमयुक्त भीर हुँदै करिब तीन किलोमिटर दूरी पार गरेर सीमा क्षेत्रमा पुगेको थियो । नेपाली सेनाको टोली भने हेलिकोप्टरमार्फत सीमा क्षेत्रमा पुगेको थियो ।
सीमा क्षेत्रमा पुगेपछि दुवै सुरक्षा निकायका टोलीले संयुक्त रूपमा नेपालतर्फको सीमामा राष्ट्रिय झन्डा राखेका थिए ।
बाढीपछि क्षतिग्रस्त सीमा क्षेत्रको सुरक्षा, आवागमन र पूर्वाधार पुनःस्थापनाको चुनौती कायमै रहेका बेला सीमा नाकामा राष्ट्रिय झन्डा राखिएको हो ।