रसुवा पहिरोमा बेपत्ता नागरिकको खोजीबारे बुझ्न दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा
काठमाडौं — रसुवामा भएको भीषण बाढी–पहिरोमा परी बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा उद्धारको अवस्थाबारे जानकारी लिन दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार नेपाल आइपुगेका छन् ।
तीनदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका विदेशमन्त्री चोले बेपत्ता दक्षिण कोरियाली नागरिकका परिवार तथा नेपाल सरकारका सम्बन्धित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धारको प्रगतिबारे प्रत्यक्ष जानकारी लिन चोको नेपाल भ्रमण केन्द्रित रहने बताइएको छ ।
नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्नेछन् । भेटमा विपद् प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहतका प्रयासका साथै पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ ।
यस क्रममा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा विपद्का समयमा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।
दक्षिण कोरियाली विदेशमन्त्रीको यो भ्रमणलाई रसुवा पहिरोमा बेपत्ता नागरिकको खोजीप्रति दक्षिण कोरियाको चासो र नेपालसँग विपद् व्यवस्थापनमा सहकार्य थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ ।