काठमाण्डौ–हेटौंडा सडकमा चाप, विकल्पमा अर्को सडक खुलाउने तयारी – Nepalboli

काठमाण्डौ–हेटौंडा सडकमा चाप, विकल्पमा अर्को सडक खुलाउने तयारी

   २०८३ भाद्र २०, शनिबार  

काठमाण्डौ— पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डौ–हेटौंडा आवागमनका वैकल्पिक मार्गमा सवारीको चाप बढेको छ । त्यसलाई व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले थप एउटा वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी थालेको छ ।

हाल त्रिभुवन राजपथ तथा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र फाखेल सडकमा अत्यधिक सवारी चाप छ । पृथ्वी राजमार्ग तत्काल पूर्ण रूपमा सञ्चालनमा आउने अवस्था नदेखिएपछि प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकारका अनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन गरिएको छ । सडकको वर्तमान अवस्था निरीक्षण गरी आवश्यक मर्मतका काम तत्काल अघि बढाएर सवारी सञ्चालनयोग्य बनाउने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

यो सडक सञ्चालनमा आएपछि काठमाण्डौ–हेटौंडा आवागमनका लागि थप एउटा विकल्प उपलब्ध हुनेछ । साथै, पृथ्वी राजमार्ग वा अन्य प्रमुख सडकमा अवरोध सिर्जना हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हुँदै गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै