पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
धादिङ—पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि उक्त खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो । क्षतिग्रस्त सडकको मर्मत गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म राजमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
प्रशासनका अनुसार मर्मत अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
राजमार्ग बन्द रहने अवधिमा यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । सडक मर्मतका कारण यात्रामा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ ।
मर्मत कार्य सम्पन्न भएपछि उक्त खण्डमा नियमित रूपमा सवारी सञ्चालन गरिने प्रशासनले जनाएको छ ।