त्रिशूली ३ ‘ए’ मा ९ दिनपछि आशाको संकेत, बन्द सुरुङभित्रबाट सुनियो मानिसको आवाज – Nepalboli

त्रिशूली ३ ‘ए’ मा ९ दिनपछि आशाको संकेत, बन्द सुरुङभित्रबाट सुनियो मानिसको आवाज

   २०८३ भाद्र १९, शुक्रबार  

रसुवा— रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएर ९ दिनदेखि बन्द रहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरू जीवितै रहेको आशा पलाएको छ । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएपछि नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएको छ ।

आज बिहान उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्र मानिस बोलेको आवाज सुनेको हो ।

आवाज सुनिएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धारलाई थप तीव्र बनाएको न्यौपानेले बताए ।

सुरुङभित्रबाट मानिसको आवाज सुनिनु उद्धारका लागि निकै आशाजनक संकेत हो,न्यौपानेले भने ।

बिहीबार साँझसम्म आफू इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर उद्धारमा खटिएको उनले बताए । अब भने सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुगेर त्यहाँबाट सवारीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको उनले जानकारी दिए ।

उनले कठिन परिस्थितिमा निरन्तर खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली र सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारको सुखद खबर छिट्टै आउने विश्वास व्यक्त गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै