काठमाडौंमा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँले बढ्यो
काठमाडौं— उपत्यकामा एलपी ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाले बढेको छ । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा बिक्री हुने ग्यासको अधिकतम मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरिएको जनाएको हो ।
यसअघि नेपाल आयल निगमले तोकेको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ थियो ।
संघका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा गत भदौ १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीले सडकको केही भाग कटान गरेपछि काठमाडौं उपत्यकामा ग्यास ढुवानी प्रभावित भएको छ । राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी लागत बढेको संघको भनाइ छ ।
सडक अवरोधपछि उत्पन्न असहजताबारे सोही दिन नेपाल आयल निगम र संघबीच छलफल भएको थियो । छलफलपछि उपत्यकामा बजार व्यवस्थापन गरिरहेका उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने सहमति भएको संघले जनाएको छ ।
संघका अनुसार हेटौँडास्थित सहारा ग्यास उद्योगबाट वैकल्पिक मार्ग हुँदै काठमाडौंसम्म करिब १३१ किलोमिटर दूरी तय गर्दा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा थप ढुवानी खर्च लाग्ने र करसहित उक्त रकम १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको हो ।
संघको ३१औं वार्षिक साधारणसभाले निगमले तोकेको मूल्यमा १०५ रुपैयाँ ३८ पैसाभन्दा बढी नलिन ग्यास उद्योगहरूलाई आग्रह गरेको छ ।
अध्यक्ष दिवान बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा विषम परिस्थितिलाई ध्यानमा राख्दै कुनै पनि उद्योगी, बिक्रेतालाई नयाँ सिलिन्डरको बजारीकरण नगर्न-नगराउन आग्रह गरिएको छ । साथै संघले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न आग्रह गरेको छ।