रसुवा बाढीमा बेपत्ता आफन्तको डीएनए परीक्षण गर्न प्रहरीको आग्रह
काठमाडौं—रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । बाढीपछि फेला परेका शव तथा शरीरका अंगको पहिचान हुन नसकेका अवस्थामा आफन्तको डीएनए प्रोफाइलसँग तुलना गरी सनाखत गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ भदौ १० गते (२६ अगस्ट २०२६) रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट आफन्त फेला नपरेका परिवारले डीएनए परीक्षणका लागि नजिकको पहिलो तहका आफन्तको नमुना उपलब्ध गराउन सक्नेछन् ।
नेपालमा रहेका बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको ताजा रगतको नमुना संकलन गरी डीएनए प्रोफाइलिङका लागि उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको छ । त्यसका लागि दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
त्यस्तै, विदेशमा रहेका बेपत्ता व्यक्तिका पहिलो तहका आफन्तले आफू बसेको देशमा अधिकृत प्रयोगशालाबाट (Autosomal STR DNA profiling) गराई त्यसको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ । प्राप्त डीएनए प्रोफाइललाई नेपालमा फेला परेका शव तथा शरीरका अंगबाट तयार गरिएको प्रोफाइलसँग तुलना गरिनेछ ।
प्रहरीका अनुसार डीएनए प्रोफाइल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम तथा राष्ट्रियता, राहदानी वा परिचय खुल्ने विवरण, बेपत्ता भएको मिति र स्थान, अधिकृत प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको नाता खुलाउनुपर्नेछ ।
बाढीपछि फेला परेका तर पहिचान हुन नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक विधिबाट पहिचान गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।