बजारमा चिनीको भाउ किलोको १३५ पुग्दा साल्ट ट्रेडिङमा १०० रुपैयाँमै, बजारमा ३ हजार टन पठाइयो
काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेको बहानामा निजी क्षेत्रले बजारको मूल्य प्रतिकिलो १३५ रुपैयाँसम्म पुर्याएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बजार हस्तक्षेप सुरु गरेको छ ।
कर्पोरेसनले अहिले प्रतिकिलो १०० रुपैयाँमा चिनी बिक्री वितरण गरिरहेको छ । निजीभन्दा ३५ रुपैयाँ सस्तोमा चिनी पाउन थालेपछि साल्ट ट्रेडिङका बिक्री काउन्टरमा उपभोक्ताको चाप बढेको छ ।
कर्पोरेसनका अनुसार पछिल्लो पटक मात्रै यही भदौ ९ गते ६०० टन चिनी आयात गरिएको थियो । पछिल्ला केही दिनमा मात्रै कर्पोरेसनले ३ हजार टन चिनी बजारमा पठाइसकेको सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले जानकारी दिए ।
सरकारको नीति अनुसार नै हामीले सहुलियत मूल्यमा चिनी बिक्री गरिरहेका छौं । बजारमा अस्वाभाविक मूल्यवृद्धि रोक्नु नै हाम्रो हस्तक्षेपको उद्देश्य हो,ू झाले भने ।
चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तु चामल, दाल, गेडागुडी, तेलको मूल्य निरन्तर उकालो लागिरहेको बेला चिनीको मूल्यले झनै उपभोक्तालाई मारमा पारेको थियो । यही अवस्थालाई मध्यनजर गरी कर्पोरेसनले आफ्नो मौज्दातबाट बजारमा चिनीको आपूर्ति बढाएको हो ।
कर्पोरेसनले आफूले बिक्री गर्दै आएको खाद्यान्नमा मूल्य स्थिर राख्न सफल भएको दाबी गरेको छ । ग्यास, नुन जस्तै चिनीमा पनि सार्वजनिक संस्थाको उपस्थितिले बजारमा सन्तुलन कायम गर्ने कर्पोरेसनको भनाइ छ ।