भोटेकोशी–त्रिशूली बाढीः सेनाले एकै दिन ११९ जनाको उद्धार, टनेलभित्र खोजी तीव्र – Nepalboli

भोटेकोशी–त्रिशूली बाढीः सेनाले एकै दिन ११९ जनाको उद्धार, टनेलभित्र खोजी तीव्र

   २०८३ भाद्र १६, मंगलवार  

काठमाडौं— भोटेकोशी र त्रिशूली नदीको बाढीपछि बेपत्ता तथा प्रभावितको खोजीमा नेपाली सेनाले स्थल र हवाई दुवै माध्यमबाट अभियान तीव्र बनाएको छ। मंगलबार मात्रै सेनाले एक बेलायती नागरिकसहित ११९ जनाको हवाई उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार मंगलबार साँझ ७ बजेसम्मको विवरणअनुसार हालसम्म हवाई साधनबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम पनि जारी छ । सेनाको हवाई साधनमार्फत धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३ ‘ए’ क्षेत्रमा हालसम्म २ हजार ५०० किलो राहत सामग्री ढुवानी गरिएको छ ।

टनेलभित्र खोजी जारी

बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाको खोजीका लागि संयुक्त टोली परिचालन गरिएको छ ।

चिलिमे हाइड्रोमा विदेशी नागरिकसहित २६ सदस्यीय संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोजी गरेको थियो । तर भिरालो भाग सुरु हुने स्थानमा पुग्दा सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएको सेनाले जनाएको छ ।

त्यस्तै, अपर त्रिशूली–१ को हाँकूमा परिचालित संयुक्त टोली सुरुङभित्र करिब १६० मिटरसम्म पुगेको थियो । त्यहाँ पनि सुरुङ टालिएको अवस्थामा फेला परेको छ ।

त्रिशूली–३ ‘ए’ मा टनेल हेड पहिचान भएपछि तीनवटा एक्स्काभेटर प्रयोग गरेर माटो हटाउने काम भइरहेको छ । कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेट टनेलमा पारिएको होलबाट प्रवेश गर्ने प्रयास गरिए पनि अत्यधिक पानीका कारण प्रवेश गर्न नसकिएको सेनाले जनाएको छ । अहिले आउटलेटतर्फबाट पुनः होल पार्ने काम भइरहेको छ ।

यसैगरी त्रिशूली–३ ‘बी’ आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माण भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै