भोटेकोशी–त्रिशूली बाढीः मृतकको संख्या १ हजार नाघ्यो, ३९१६ अझै सम्पर्कविहीन
काठमाडौं— भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षतिको भयावह तस्वीर सार्वजनिक भएको छ । बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ५० पुगेको छ भने करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मंगलबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ५० शव फेला परेका छन्।
सबैभन्दा धेरै शव चितवनमा ३२१ वटा भेटिएका छन् । त्यस्तै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र नुवाकोटमा १४२ शव फेला परेको प्राधिकरणले जनाएको छ ।
यसैगरी गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ शव फेला परेका छन् ।
बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कमा आउन नसकेको प्राधिकरणको तथ्यांकले देखाएको छ । कुल करिब ३ हजार ९१६ जना सम्पर्कविहीन रहेकामा नुवाकोटबाट करिब १ हजार ५५८ र रसुवाबाट ८६५ जना रहेका छन् ।
सम्पर्कविहीनमध्ये जलविद्युत आयोजनासँग सम्बन्धित करिब ६३९ जना, विदेशी नागरिक ५८३ जना तथा विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली रहेको तथ्यांकमा उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।