कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिरै भरिँदै ग्यास, वैकल्पिक सडकबाट काठमाडौं ल्याइने
काठमाडौं— पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानी भित्रिने एलपी ग्यासको आपूर्ति प्रभावित नहोस् भनेर उद्योगहरूले उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं ल्याउने व्यवस्था मिलाएका छन् ।
राजमार्ग अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने भएपछि नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका र आसपासका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरी सिलिन्डर भर्ने व्यवस्था मिलाएका छन् ।
उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने भएकाले आपूर्ति सहज राख्न वैकल्पिक व्यवस्था गरिएको चन्दले बताए ।
संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म राजधानीबाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडक हुँदै काठमाडौं ल्याइनेछ ।
बाहिरका उद्योगमा भरिएका सिलिन्डर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । कालाखेतीका अनुसार ग्यास भर्ने काम सुरु भइसकेकाले तत्काल उपत्यका तथा आसपासका जिल्लामा अभाव हुने अवस्था नरहेको दाबी गरिएको छ ।
उनले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चित नगर्नसमेत आग्रह गरेका छन् ।
हालसम्म श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगमा ग्यास भर्न सुरु गरेका छन्। त्यसैगरी एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न थालेका छन् ।
अन्य उद्योगहरूले पनि राजधानीबाहिर रहेका उद्योग तथा एक–अर्कासँग समन्वय गरेर ग्यास भर्ने प्रक्रिया अघि बढाइरहेका छन् ।
कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्गमा आवागमन अवरुद्ध छ । राजमार्ग कहिले सञ्चालनमा आउने निश्चित नभएकाले राजधानीको एलपी ग्यास आपूर्ति नियमित राख्न उद्योगहरूले वैकल्पिक आपूर्ति प्रणाली अपनाएका हुन् ।