रसुवा बाढीः ९३९ जनाको मृत्यु, अझै करिब ३ हजार ९२५ जना सम्पर्कविहीन – Nepalboli

रसुवा बाढीः ९३९ जनाको मृत्यु, अझै करिब ३ हजार ९२५ जना सम्पर्कविहीन

   २०८३ भाद्र १५, सोमबार  

काठमाडौं— रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ९३९ जनाको मानवीय क्षति भएको छ भने अझै करिब ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित विभिन्न जिल्लामा गरी ९३९ जनाको शव फेला परेको जनाएको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी शव चितवनमा २७९, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १६८ वटा फेला परेका छन् । त्यस्तै गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८, नुवाकोटमा ९५ र रसुवामा २३ वटा शव फेला परेको विवरणमा उल्लेख छ । केही शव विभिन्न मानव अंगसहित फेला परेको जनाइएको छ ।

अझै हजारौँ सम्पर्कविहीन

बाढीपछि विभिन्न निकाय तथा क्षेत्रमा गरी करिब ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीनमध्ये नुवाकोटमा मात्रै करिब १ हजार ५५८ जना रहेको विवरण छ । त्यस्तै रसुवामा करिब ८६५ जना, जलविद्युत आयोजनाबाट करिब ६३९ जना र सम्पर्कविहीन विदेशी नागरिक ५९२ जना रहेको जनाइएको छ ।

नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन् ।

यसैगरी विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

११ हजार ३७९ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै २५३ विदेशी र २ हजार ४०४ नेपाली गरी २ हजार ६५७ जनाको उद्धार गरेको छ । सेनाले हालसम्म ४९९ पटक हवाइ उडान गरेको छ भने बुधबार मात्रै ८८ उडान गरिएको प्राधिकरणले जनाएको छ ।

निजी क्षेत्रबाट काठमाडौंमा भएका उडानमार्फत समेत २९ वटा उडान गरिएको छ ।

२७९ घाइते, १६८ जना डिस्चार्ज

बाढीमा परी हालसम्म २७९ जना घाइते भएका छन् । तीमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घाइते तथा उपचाररत व्यक्तिको विस्तृत विवरण प्राधिकरणको फेसबुक पेज तथा वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ । नेपाली सेनाबाट २ हजार ७०० जनाले स्वास्थ्य उपचार प्राप्त गरेको विवरणसमेत सार्वजनिक गरिएको छ ।

२१ हजार सुरक्षाकर्मी परिचालन

खोज, उद्धार तथा राहतका लागि सुरक्षातर्फ मात्रै २१ हजार ८ जना परिचालन गरिएको छ ।

यसमा नेपाल प्रहरीका ७ हजार ९०९, नेपाली सेनाका ८ हजार ८९६ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

सरकारबाट ९ करोड २५ लाख नगद राहत

बाढी प्रभावित क्षेत्रमा सरकारले तत्कालका लागि नगद राहतसमेत उपलब्ध गराएको छ ।

रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

३७ ट्रक र ३७ बोलेरोबाट राहत सामग्री

प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरबाट समेत ९ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा अहिले ४५ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाइ इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

 

पहिचान नखुलेका शव २१ अस्पतालमा

प्राधिकरणका अनुसार पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन् । ती शवको पहिचान तथा विवरण संकलनको काम भइरहेको जनाइएको छ ।

प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा रहेका नेपाली, उपचाररत व्यक्ति तथा हेलिकप्टरमार्फत उद्धार गरिएका व्यक्तिको विवरण आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै