विपद्का पछिल्ला अनुभव समेटेर कानून पुनरावलोकन गर्दै सरकार – Nepalboli

विपद्का पछिल्ला अनुभव समेटेर कानून पुनरावलोकन गर्दै सरकार

   २०८३ भाद्र १५, सोमबार  

काठमाडौं— पछिल्ला विपद्का घटनामा उद्धार, राहतदेखि पुनर्निर्माणसम्म देखिएका कानूनी तथा संस्थागत जटिलता सम्बोधन गर्न सरकारले विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानून पुनरावलोकन गर्ने भएको छ ।

सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ कार्यान्वयनका लागि गठित उच्चस्तरीय समितिको सोमबार बसेको तेस्रो बैठकले विपद् व्यवस्थापन, पूर्वतयारी र विपद्पछिको पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानूनी व्यवस्थाको अध्ययन तथा पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

कानुनमन्त्री सोबिता गौतमको सचिवालयका अनुसार बैठकमा पछिल्ला विपद्का घटनाबाट देखिएका कानूनी तथा संस्थागत चुनौती, नेपालको भौगोलिक एवं वातावरणीय जोखिम, विपद्का बेला उद्धार तथा राहतमा देखिने व्यवहारिक कठिनाइ र विपद्पछिको पुनर्निर्माणलाई सहज बनाउने कानूनी व्यवस्थाबारे विस्तृत छलफल भएको थियो ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विद्यमान फ्रेमवर्कसहित विपद् व्यवस्थापनसम्बन्धी कानूनी संरचनाको अध्ययन गरी त्यसका आधारमा थप छलफल गर्ने निर्णयसमेत गरेको छ ।

समितिकी संयोजकसमेत रहेकी मन्त्री गौतमले कानून निर्माणलाई परम्परागत ढाँचामा सीमित नगरी नेपालको वर्तमान परिस्थिति, भौगोलिक अवस्था र भविष्यमा आउन सक्ने जोखिमको अध्ययन गरेर ‘आउट अफ द बक्स’ सोचका साथ अघि बढाउनुपर्ने बताइन् ।

उनले रसुवालगायतका पछिल्ला विपद्का घटनाबाट प्राप्त अनुभवलाई आगामी कानून निर्माणमा समेट्नुपर्नेमा जोड दिइन्।

‘अबको नेपाल कस्तो बनाउने’ र ‘नेपालको पूर्ण पुनर्निर्माण कस्तो हुने’ भन्ने दीर्घकालीन दृष्टिकोणलाई आधार बनाएर कानून निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री गौतमले विगतमा विपद्पछिको पुनर्निर्माणका क्रममा अन्तर्राष्ट्रिय अभ्यास तथा ‘सेन्डाई फ्रेमवर्क’ लगायतका आधारमा कानून र संस्थागत संरचना निर्माण गरिए पनि अहिले देखिएका व्यवहारिक आवश्यकतालाई समेत नयाँ कानूनी व्यवस्थाले सम्बोधन गर्नुपर्ने बताइन् ।

उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डलाई आधार मान्दा पनि नेपालको विशिष्ट भौगोलिक अवस्था, सामाजिक संरचना र स्थानीय आवश्यकतालाई कानून निर्माणको केन्द्रमा राखिनुपर्छ ।

उच्चस्तरीय समितिको बैठकमा विषयगत मन्त्रीहरू, नेपाल सरकारका महान्यायाधिवक्ता डा। नारायणदत्त कडेल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव र नेपाल कानून आयोगका सचिव इन्दिरा दाहाल भट्टराईलगायत सहभागी थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै