रसुवा बाढीमा मधेशका ३० जना सम्पर्कविहीन, खोजी जारी – Nepalboli

रसुवा बाढीमा मधेशका ३० जना सम्पर्कविहीन, खोजी जारी

   २०८३ भाद्र ११, बिहीबार  

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन भएका छन् । उनीहरू रसुवाका विभिन्न स्थानमा काम तथा बसोबास गर्दै आएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा पर्साका १६, सर्लाहीका ६, बाराका ३, रौतहटका २ र सप्तरीका २ जना रहेका छन् ।

पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अन्सारी, सुभाष पटेल, समिम देवान, अनुतमबहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीलगायत सम्पर्कविहीन छन् ।

त्यस्तै, बाराका नारायण सिंह, सत्यप्रकाश राम र अन्कित पटेल तथा रौतहटका गौरव राउत र शेख मजिद सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीका माधव काफ्ले, अनुज काफ्ले, कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा र सुनिल कुशवाहा पनि सम्पर्कविहीनको सूचीमा छन् । सप्तरीका अजयकुमार यादव र साजन चौधरीको अवस्था पनि हालसम्म यकिन हुन सकेको छैन ।

प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये सर्लाहीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि सम्पर्कमा आएका छन् । अन्य व्यक्तिको अवस्था यकिन गर्न खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

मधेश प्रदेश प्रहरीले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई अनावश्यक त्रासमा नपर्न आग्रह गर्दै आधिकारिक सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै