रसुवा बाढीः मृतकको संख्या १६५ पुग्यो, ८२६ अझै बेपत्ता – Nepalboli

रसुवा बाढीः मृतकको संख्या १६५ पुग्यो, ८२६ अझै बेपत्ता

   २०८३ भाद्र ११, बिहीबार  

काठमाडौं— रसुवामा आएको विनाशकारी बाढी तथा देशका विभिन्न क्षेत्रमा भएको विपद्बाट १६५ जनाको शव फेला परेको छ भने ८२६ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार बिहान सवा ८ बजेसम्मको विवरणमा बेपत्तामध्ये ८५ जना सुरक्षाकर्मी रहेका छन् । तीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन् ।

यस्तै, रसुवाका १६१ र नुवाकोटका एक जना पनि बेपत्ता रहेको केन्द्रले जनाएको छ । बाढी तथा विपद्का कारण ५७९ जना पर्यटकसमेत सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन पर्यटकमध्ये ११३ नेपाली र ४६६ विदेशी नागरिक रहेको मन्त्रालयको तथ्यांक छ ।

विपद्मा परेका १०४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना छन् ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनस्थित नारायणी नदी आसपासमा ६४ वटा रहेका छन् । यस्तै धादिङमा २७, नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा नौ र रसुवामा दुई शव फेला परेका छन् । नवलपरासी पश्चिममा थप पाँच जनाको शव भेटिएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेका छन् । शवको पहिचान तथा बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ ।

मन्त्रालयले विपद्सम्बन्धी सूचना संवेदनशील विषय भएकाले आधिकारिक निकायबाट जारी भएका सूचनालाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै