हर्मुज जलमार्ग हुँदै जाने विदेशी जहाजबाट सेवा शुल्क उठाउने इरानी संसद्को निर्णय
एजेन्सी— इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने विदेशी जहाजबाट विभिन्न सेवा शुल्क उठाउने कानुनी व्यवस्था अघि बढाएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले सम्बन्धित विधेयकको धारा ३ अनुमोदन गरेसँगै यस्तो व्यवस्था अघि बढेको हो ।
‘हर्मुज जलमार्गको सुरक्षा र प्रगति सुनिश्चित गर्ने रणनीतिक कार्य’सम्बन्धी विधेयकअन्तर्गत हर्मुज हुँदै आवतजावत गर्न अनुमति पाएका विदेशी जहाजले इरानलाई सेवा शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको अलजजिराले जनाएको छ ।
इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार समितिका प्रवक्ता हसन काश्काभीले जलमार्गमा उपलब्ध गराइने विभिन्न सेवाबापत शुल्क निर्धारण गरिएको जानकारी दिएका छन् ।
नयाँ व्यवस्थाअनुसार जहाजले सामुद्रिक सुरक्षा, वातावरणीय संरक्षण, विशेष परिस्थितिमा इन्धन भर्ने सेवा, बिमा, सुरक्षा व्यवस्थापन तथा इरानले उपलब्ध गराउने अन्य सेवाबापत शुल्क तिर्नुपर्नेछ । शुल्क इरानी रियाल वा तेहरानले तोकेको विदेशी मुद्रामा बुझाउन सकिने व्यवस्था गरिएको छ ।
इरानले सन् १९८२ को समुद्रसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि तथा त्यसपछि ओमानले जारी गरेको राजनीतिक घोषणालाई आधार बनाउँदै हर्मुज जलमार्गको प्रयोगले तटीय राष्ट्रको राष्ट्रिय सम्प्रभुता र सुरक्षामा असर पार्न नहुने धारणा दोहोर्याएको छ ।
संसदीय समितिले विधेयक तयार पार्दा हर्मुज जलमार्गसँग जोडिएका तटीय राष्ट्रहरूको अधिकारलाई समेत ध्यानमा राखिएको दाबी गरेको छ ।
अमेरिका र इरानबीच आर्थिक तथा सैन्य तनाव बढिरहेका बेला आएको यो निर्णयलाई हर्मुज जलमार्गमा आफ्नो सुरक्षा, व्यवस्थापन र निगरानी थप मजबुत बनाउने इरानको प्रयासका रूपमा हेरिएको छ ।