२२ करोडको कालीगण्डकी अस्पताल अलपत्र, समय सकिँदा पनि निर्माण अधुरै
स्याङ्जा— पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा निर्माणाधीन २२ करोड रुपैयाँको अस्पताल निर्धारित समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीले अझै सहज स्वास्थ्य सेवाका लागि पर्खिनुपर्ने अवस्था बनेको छ ।
संघीय सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण भइरहेको कालीगण्डकी अस्पताल २०७९ सालमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आर एन्ड सी एस–बेकन जेभीलाई ठेक्का दिइएको थियो । तर सम्झौताको अवधि सकिइसक्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीका इन्जिनियर राहुल बैद्यका अनुसार वैदेशिक रोजगारीका कारण स्थानीयस्तरमा दक्ष जनशक्तिको अभाव हुँदा कामदार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यही कारण निर्माणले अपेक्षित गति लिन नसकेको उनले बताए ।
हाल कालीगण्डकी अस्पताल साँघुरो भवनबाट सेवा सञ्चालन गरिरहेको छ । नयाँ भवन सम्पन्न भए स्याङ्जासँगै छिमेकी जिल्ला गुल्मी र पर्वतका बासिन्दाले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
निर्माणका क्रममा करिब १२ घरधुरीको जग्गा तथा संरचना प्रभावित भएको र जग्गासम्बन्धी विवादसमेत आयोजना ढिलाइको प्रमुख कारण बनेको बताइएको छ ।
स्थानीयवासीले करोडौँ लगानी भएको आयोजना वर्षौँसम्म अधुरै रहँदा उपचारका लागि पाल्पा, पोखरा र अन्य सहर धाउनुपर्ने बाध्यता कायमै रहेको गुनासो गरेका छन्।