ओमानलाई ट्रम्पको कडा चेतावनी ‘हर्मुज वार्तामा अवरोध भए बमबारी गर्छौं’
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको कूटनीतिक प्रक्रियामा अवरोध सिर्जना भए सहयोगी राष्ट्र ओमानमाथि पनि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । ट्रम्पको यो अभिव्यक्तिले स्ट्रेट अफ हर्मुज पुनःखोल्ने संवेदनशील वार्तामाथि नयाँ तनाव थपिएको छ ।
अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन् । वार्ताको मुख्य उद्देश्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउनु हो । अमेरिका–इरान युद्धका कारण करिब ६ महिनादेखि यो जलमार्ग प्रायः बन्द अवस्थामा छ ।
फक्स न्युजका रिपोर्टर ट्रे यिङ्स्टका अनुसार ट्रम्पले फोन अन्तर्वार्ताका क्रममा ओमानलाई लक्षित गर्दै अपशब्दसहित कडा धम्की दिएका थिए । उनले उद्धृत गरेअनुसार ट्रम्पले भनेका छन्, “ओमान हाम्रो बाटोमा आयो भने हामी उसलाई नराम्रोसँग बमबारी गर्नेछौं ।” यद्यपि ट्रम्पले ‘अवरोध’ भन्नाले के जनाउन खोजेका हुन् भन्ने स्पष्ट पारेका छैनन् ।
यसअघि सोमबार इरानी अधिकारीहरूले ओमानसँग भइरहेको वार्ता सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए । अर्कोतर्फ, अमेरिका र इरानबीच भएको ६० दिने समझदारीपत्र (एमओयु) को अवधि सकिन लागेकाले दुई देशबीचको संवादको भविष्य अन्योलमा परेको छ ।
सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले एमओयुको म्याद थप्ने कुनै प्रयास नगरेको स्पष्ट पारे । एक पत्रकारको प्रश्नमा उनले छोटो जवाफ दिए, “होइन ।”
फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने आवतजावतमा व्यापक रोक लगाएको थियो । विश्वमा व्यापार हुने कुल तेल र प्राकृतिक ग्यासको करिब २० प्रतिशत यही जलमार्गबाट ओहोरदोहोर हुने भएकाले यसको पुनः सञ्चालन अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनेको छ ।
स्ट्रेट अफ हर्मुजको दक्षिणी किनारमा रहेको ओमानले आफूलाई द्वन्द्वमा तटस्थ राष्ट्र बताउँदै आएको छ । इरानसँग विभिन्न सुरक्षा चुनौती सामना गरिसके पनि उसले अहिले जलमार्ग पुनःखोल्ने प्रयासमा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।