कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ मै – Nepalboli

कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ मै

   २०८३ श्रावण २८, बिहीबार  

काठमाडौँ – नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनको मुख्य मितिलाई नचलाई तल्लो तहका अधिवेशनहरूको समयतालिकामा हेरफेर गर्ने तयारी थालेको छ । क्रियाशील सदस्यता अद्यावधिक र स्थानीय तहको सांगठनिक तयारीलाई चुस्त बनाउन पार्टीले तल्लो निकायका अधिवेशन तालिका परिमार्जन गर्न लागेको हो ।

बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म तय गरिएको केन्द्रीय महाधिवेशनको मिति यथावत् रहने स्पष्ट पार्नुभयो । केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी त्यसभन्दा तलका तहगत अधिवेशनहरूको तालिकामा आवश्यक समायोजन गर्न लागिएको उहाँको भनाइ छ ।

बैठकमा विशेषगरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले बुझाएको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणसम्बन्धी प्रतिवेदनमाथि छलफल भइरहेको छ । प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रमा देखिएका व्यावहारिक र प्राविधिक जटिलताबारे केन्द्रीय समितिलाई जानकारी गराएका छन्  ।

महामन्त्री पौडेलका अनुसार सदस्यता वितरण र अद्यावधिकको ठूलो काम सम्पन्न भइसकेकाले अब सानातिना प्राविधिक त्रुटि सच्याउने, छुटेका विवरण समावेश गर्ने र अन्य सांगठनिक व्यवस्थापनमा बैठक केन्द्रित छ ।

केन्द्रीय महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता व्यवस्थापनका अतिरिक्त बैठकमा अन्य समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा समेत केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै