कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको चेतावनी, गण्डकीमा धेरै भारी वर्षाको सम्भावना – Nepalboli

कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको चेतावनी, गण्डकीमा धेरै भारी वर्षाको सम्भावना

   २०८३ श्रावण २८, बिहीबार  

काठमाडौं — मनसुन सक्रिय भएसँगै आज कोशीदेखि लुम्बिनीसम्मका हिमाली तथा पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ
। तीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति भने देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि मधेस, कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ । गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै