२६ दिनमै धनुषामा ८१ लाखको अवैध सामान बरामद, ४१० पक्राउ
जनकपुरधाम — धनुषा प्रहरीले भन्सार चोरीपैठारी नियन्त्रणदेखि लागुऔषध तथा हातहतियारविरुद्धको अभियानलाई तीव्र बनाएको छ । साउनको २६ दिनमा मात्रै प्रहरीले ८१ लाख ७ हजार ७८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ देखि २६ गतेसम्म विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा उक्त मूल्य बराबरका अवैध सामान बरामद गरिएको हो । यसक्रममा पाँच जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोही अवधिमा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा २४ जना पक्राउ परेका छन् । उनीहरूमाथि लागुऔषधसम्बन्धी १९ वटा मुद्दा दर्ता गरिएको छ ।
कारबाहीका क्रममा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरो हेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।
त्यस्तै, प्रहरीले हातहतियारसम्बन्धी एक मुद्दा दर्ता गर्दै तीन जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, ७.६५ केएफ लेखिएको एक थान गोली तथा नौ एमएम केएफ लेखिएको एक राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीले फैसला कार्यान्वयन अभियानलाई समेत तीव्रता दिएको छ । साउन १ देखि २६ गतेसम्म विभिन्न अदालतबाट जारी भएका ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ ।
यस अवधिमा अदालतबाट दोषी ठहर भएका व्यक्तिमाथि कारबाही गर्दै १५८ वर्ष ८ महिना ७ दिन बराबरको कैद सजाय कार्यान्वयनगरिएको तथा ६३ लाख ७७ हजार २६१ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
प्रहरीले जिल्लामा अवैध चोरीपैठारी, लागुऔषध, हातहतियार तथा फरार अभियुक्तविरुद्धको कारबाहीलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।