कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु
काठमाडौँ — कोलम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको छ ।
कोलम्बियाको भूगर्भीय सेवाका अनुसार सोमबार बिहान ७ः३४ बजे चोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । करिब १०३ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रमा महसुस गरिएको थियो ।
भूकम्पपछि सरकारले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । भग्नावशेषमा मानिसहरू पुरिएको आशंका रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा शहर पनि परेको छ । स्थानीय अधिकारीका अनुसार पेरेइराको महानगरीय क्षेत्रमा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको छ । त्यहाँ ६५ वटा भवन भत्किएका छन् भने १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु चोको प्रान्तको सान होसे डेल पालमार गाउँनजिकै भए पनि गाउँमा मानवीय क्षति नभएको मेयर लेओन फाबियो मारिन मोनकाडाले बताएका छन् । तर, गाउँतर्फ जाने तथा आउने सडकमा क्षति पुगेको छ ।
केन्द्रविन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरामा ठूलो भौतिक क्षति भएको छ । सार्वजनिक भिडियोहरूमा शहरको मुख्य चोक प्लाजा बोलिभारमा एउटा भवन भत्किएको तथा आसपास भग्नावशेष र धुलो फैलिएको देखिएको बीबीसीले जनाएको छ ।
पेरेइराभन्दा करिब १६० किलोमिटर दक्षिणमा रहेको काली शहरमा पनि ३२ वटा भवन भत्किएका छन्। मानिजालेस, किब्दो, मेडेलिन तथा चोको र भाये डेल काउका क्षेत्रमा समेत भूकम्पले जनधनको क्षति पुर्याएको छ । मानिजालेसमा मात्रै कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ ।
उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान जारी राखेका छन् ।